भूमिसम्बन्धी अध्यादेशबाट पछि हट्यो सरकार

काठमाडौं । सरकारले भूमिसम्बन्धी अध्यादेश तत्काल अघि नबढाउने भएको छ । सत्तामै रहेको केही दलको साथ नपाएपछि सरकार तत्काल भूमि सम्बन्धी अध्यादेश रोक्ने निर्णयमा पुगेको हो ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार भूमिबाहेकका अध्यादेशहरु २१ गतेको प्रतिनिधि सभा र २२ गतेको राष्ट्रिय सभा बैठकबाट पास गर्ने तयारी छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँगको छलफलपछि नै अन्य पाँच अध्यादेश अघि बढाउने निर्णय गरिएको बर्तौलाले बताए ।

Advertisement

सरकारले ६ वटा अध्यादेश ल्याएको थियो । जसमा सत्ता गठबन्धनमा रहेका जसपा नेपाल र लोसपाले भूमिसम्बन्धी अध्यादेश फिर्ताको अडान राखेका थिए । संसदमा उनीहरुले साथ नदिनेभएपछि पाँच वटा अध्यादेशमात्र संसदबाट पास गर्न लागिएको हो ।

भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश गत २ माघमा जारी भएको थियो । त्यस अगाडि गत १४ पुसमा सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी भएको थियो । २९ पुसमा थप चारवटा अध्यादेश जारी भएका थिए ।

Advertisement