खोजी, उद्धार र उपचारलाई प्राथमिकता दिएका छौँ: प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले विभिन्न निकायसँग समन्वय गरी प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा उपचारको व्यवस्था मिलाएको बताए।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढीपछि नेपाली सेनाको ‘ज्वाइन्ट अपरेसन कमिटी’, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ‘क्विक एक्सन टिम’ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘र्‍यापिड एक्सन टिम’ परिचालन गरी सूचना सङ्कलन, समन्वय र अनुगमन सुरु गरिएको जानकारी दिए।

Advertisement

उनका अनुसार प्रभावित क्षेत्रमा खोजी कार्यसँगै घाइतेको उद्धार गरी काठमाडौँ ल्याएर उपचारको व्यवस्था गरिएको छ। राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालमा १०० बेड छुट्याइएको तथा अन्य ठूला अस्पताललाई समेत तयारी अवस्थामा राखिएको उनले बताए।

सरकारसँगै नेपाल स्काउट, विश्व स्वास्थ्य सङ्गठन र नेपाल रेडक्रसको सहकार्यमा मेडिकल टोली प्रभावित क्षेत्रमा खटाइएको प्रधानमन्त्री शाहले जानकारी दिए। आपत्कालीन स्वास्थ्य सेवा, औषधि तथा रगतको अभाव हुन नदिन रक्तसञ्चार सेवा केन्द्र, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस सोसाइटी तथा लायन्स क्लबलगायतसँग समन्वय गरिएको उनको भनाइ थियो।

Advertisement

प्रधानमन्त्री शाहले बाढी आएको दिन भदौ १० गते दिउँसो ३ बजे नै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको टोली स्थलमार्गबाट प्रभावित क्षेत्रतर्फ गएको बताए। त्यसयता राज्यका विभिन्न संयन्त्रबाट प्रभावित क्षेत्रको अवस्थाबारे निरन्तर जानकारी लिने काम भइरहेको उनले उल्लेख गरे।

प्रभावित क्षेत्रका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न सार्वजनिक आह्वान गरिएको बताउँदै उनले खोजी, उद्धार र उपचारसँगै घरबारविहीन भएका नागरिकलाई सुरक्षित रूपमा व्यवस्थापन गर्नु सरकारको अर्को महत्वपूर्ण जिम्मेवारी रहेको बताए।

Advertisement

घटना भएको दिन बुधबार मध्यरातमै आठ ट्रक राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको जानकारी दिँदै प्रधानमन्त्री शाहले सोही दिन रातिसम्म प्रभावित क्षेत्रमा मोबाइल प्रयोगकर्ताका लागि भ्वाइस, डेटा र एसएमएस सेवा निःशुल्क गरिएको बताए।

घटनाको भोलिपल्ट बिहानै पूर्वाधार विकासमन्त्रीसहितको टोली लिएर आफू स्थलमार्गबाट प्रभावित क्षेत्रमा पुगेर वस्तुस्थिति बुझेको जानकारी दिँदै प्रधानमन्त्रीले भने, ‘प्रभावित क्षेत्रमा बागमती प्रदेशका मुख्यमन्त्री पनि आफ्नो टोलीसहित हुनुहुन्थ्यो। प्रभावित क्षेत्रबाट फर्केलगत्तै सोही दिन मन्त्रिपरिषद्का सदस्यहरूसँग आपत्कालीन छलफल गरी आवश्यक निर्णय लिइयो। रसुवा र नुवाकोटका लागि एक–एक करोड रुपैयाँ र धादिङका लागि ५० लाख रुपैयाँ निकासा गर्‍यौँ।’

प्रधानमन्त्री शाहले सरकारको प्राथमिकता प्रभावित नागरिकको उद्धार, उपचार तथा सुरक्षित व्यवस्थापन रहेको बताए।