एसिसी महिला कप : पाकिस्तानसँग नेपाल पराजित

काठमाडौं । बलिङ डिपार्ट नचल्दा नेपालले एसिसी महिला एसिया कपमा पाकिस्तानसँग हार बेहोरेको छ ।

आइतबार राति सम्पन्न खेलमा पाकिस्तानले नेपाललाई नौ विकेटले पराजित गरेको हो ।

Advertisement

नेपालले दिएको १०९ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ११.५ ओभरमा एक विकेट गुमाएर ११० रन बनायो । समूह ए मा रहेको पाकिस्तानको यो पहिलो जित हो ।

यसअघि पाकिस्तान पहिलो खेलमा साबिक विजेता भारतसँग नौ विकेटले पराजित भएको थियो । नेपालले भने युएईलाई ६ विकेटले पराजित गरेको थियो ।

Advertisement

यो जितसँगै दुई अंक जोडेको पाकिस्तानले नेपाललाई नेटरननेटमा उछिनेर दोस्रो स्थानमा पुगेको छ । समान अंक जोडेपनि नेपाल तेस्रो स्थानमा झरेको छ ।

नेपालले मंगलबार साबिक विजेता भारतसँग समूहचरणको अन्तिम खेल खेल्ने छ । सोही दिन पाकिस्तानले युएईसँग खेल्नेछ । यी दुई खेलको नतिजाले भारतसँगै को सेमिफाइनल पुग्छ भन्ने टुंगो लाग्ने छ ।

Advertisement

पाकिस्तानका लागि गुल फिरोजाले सर्वाधिक ५७ रन बनाइन्। ३५ बल खेलेकी उनले १० चौका प्रहार गरिन् । मुनिबा अली ४६ रनमा अविजित रहिन् । ३४ बल खेलेकी उनले आठ चौका प्रहार गरिन् । यस्तै, तुबा हसन एक रनमा अविजित रहिन् ।

नेपालकी कविता जोशीले एक विकेट हात पारिन् । त्यसअघि रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०८ रन बनाएको थियो ।

नेपालकी कविता जोशीले अविजित रहँदै सर्वाधिक ३१ रन बनाइन् । २३ बल खेलेकी उनले चार चौका र एक छक्का प्रहार गरिन् । उनले छैटौं विकेटका लागि पूजा महतोसँग ३२ बलमा ३४ रनको साझेदारी गरेकी थिइन् ।

सीता रानामगर २६, पूजा महतो २५ र कविता कुँवर १३ रनमा आउट भइन् । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

पाकिस्तानकी सादिया इकबालले सर्वाधिक दुई विकेट लिइन् । यस्तै, फातिमा सानाको नाममा एक विकेट रह्यो ।