धनगढी । कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना समुदायमा ‘सावनको डोला’को रौनक सुरु भएको छ । राना बसोबास गर्ने गाउँमा साउनको सुरुमै सार्वजनिक स्थानमा पिङ राख्ने र खेल्ने चलन छ । यसलाई राना समुदायले ‘सावनको डोला’ भन्ने गर्दछन् ।
सुदूरपश्चिमका तराईका जिल्ला कैलाली र कञ्चनपुरमा मात्रै राना समुदायको बसोबास छ । रानाथारु समुदायले साउन महिनामा घर तथा समूहमा पिङ हालेर खेल्ने र सावनका डोला मनाउने परम्परा छ । तीज सुरु हुनुभन्दा एक महिनाअघिदेखि नै राना समुदायमा ‘सावनको डोला’ को रौनक छाउँछ । परम्परागत पहिरनमा सजिएका राना महिला आफ्नै पारामा गीत गाउँदै डोला खेल्दै रमाइलो गर्दछन् । यस पर्वलाई खेतीपातीको काम सकिएपछि थकाइ मेटाउने पर्वका रुपमा मनाउने गरिएको राना समुदायका जानकारहरु बताउँछन् ।
Advertisement
धनगढी उपमहानगरपालिका वडा नम्बर–७ का वडा अध्यक्ष मोती रानाले साउन १ गतेदेखि नै राना गाउँमा सावनको डोला ९पिङ० हाल्न सुरु गरेको बताए । ‘हाम्रो समुदायले साउनमा मनाउने गरेको तीज पर्व लामो हुन्छ । तीजअघि नै हाम्रो समुदायमा सावनको डोला राख्ने चलन छ’, उनले भने । विशेषगरी दिदीबहिनीले पिङमा मच्चिँदै माङ्गलिक गीत गाउने गरेको उनले बताए ।
राना समुदायका महिलाले दाजुभाइ र भतिजाको दीर्घायुका लागि व्रत बसेर तीज मनाउने प्रचलन रहेको स्थानीय राजमती रानाले बताउनुभयो । छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायमा तीज पर्व आउन एक महिनाअगावै दिदीबहिनीको घरमा गएर निम्ता दिने र तीज पर्व मनाउने चलन रहेको उनले बताए।
Advertisement
छुट्टै पहिचान र मौलिक संस्कृति रहेको यस समुदायमा पछिल्लो समय सावनको डोलाको महत्व र परम्परागत मान्यता नयाँ पुस्तामा पुस्तान्तरण हुन नसकेको राना समुदायका अग्रज बताउँछन् ।
राना समुदायका जानकार सेटसिंहले हाम्रा मौलिक चाडपर्वहरु पुस्तान्तरण नहुँदा लोप हुँदै जान थालेको बताए । सेटसिंहले भने, ‘बदलिँदो समयसँगै हाम्रा पर्व पनि लोप हुन थालेका छन् । अहिले पिङ राख्न काठ पाउनै मुस्किल छ । अहिलेका युवालाई यसप्रति चासो छैन । धेरै रोजगारीका लागि बाहिर छन् । एक महिनासम्म मनाउने यो पर्व लो हुने अवस्थामा छ ।’
Advertisement
उनले राना समुदायका परम्पराहरु अन्य समुदायको भन्दा पृथक रहेकाले भावी पुस्ताले संरक्षण गर्न जरुरी भएको बताए ।
प्रतिक्रिया