पुराना नेता र नीति दुवै विकासको बाधक

राणाको कारण देश बनेन भनेर राणा फालियो, देश विकास भएन । राजाको कारण देश बनेन भनियो, राजा फालियो देश विकास भएन, बहुदलीय व्यवस्थाका कारण बनेन भनियो त्यो व्यवस्था पनि फालियो, गणतन्त्र ल्याइयो तर पनि देश बनेन् ।

संविधान विकासको बाधक हो भनियो फेरियो देश बनेन् । जनताले कति लड्ने ? मर्ने र मार्ने ? कति पटक संविधान फेर्ने ? कति व्यवस्था बदल्ने ? एक थान संविधान फेरिदैमा देश बन्ने भए बनि सक्थ्यो । १/२ नेता फेर्दैमा देश बन्ने भए धेरै पहिल्यै बनि सक्थ्यो । बनेन् । के यिनै नीति र नेताबाट देश बन्छ त ? व्यवस्था बदल्न आन्दोलन, क्रान्ति गर्न सफल नेताहरु देश विकासमा असफल हुँदै गए । राजनीतिक दलका नेता मात्रै हैनन्, जो आफुलाइ राष्ट्र सेवक भन्छन् (कर्मचारी) तिनको माथिल्लो तहमा रहेको त झन् व्यक्तिगत विकास बाहेक वल्लोपल्लो घरमा उज्यालो देख्न चाहनन् । राजनीतिक दल र यिनका नेता जति विकास बाधक छन्, त्यो भन्दा दुई गुणा बाधक यो देशको कर्मचारी छन् ।

Advertisement

कागजि रूपमा व्यवस्था फेरिए पनि यिनको कर्यशैलि फेरिएको छैन नीतिहरु पनि पुरानै छन् । नीति पनि यस्ता छन्, कमजोरलाई, निर्धोलाई, तल्लो तहको मान्छेलाई मात्रै लागु हुने, ठूलाबडा भनाउँदाले नीति नियम माने पनि हुने न माने पनि हुने तर सानाले मान्नै पर्ने । यि र यस्ता नीतिले बसाल्ने विधि के लोकतान्त्रिक हुन्छ त ? वि.स. १९१० मा जंगबहादुरको पालामा बनेको मुलुककी ऐन हुँदै प्रथम शासन विधान २००४ पछि २०७२ को संविधानसम्म आइपुग्दा आधा दर्जन संविधान बने । संविधान धेरै फेरिए, संविधान र व्यवस्था फेरेर मात्रै हुँदो रहेनछ नि ? तदनुकुलका ऐन, कानुन र कार्यान्वयनमा सक्षम नेतृत्व चाहिने रहेछ । त्यसको पनि अभाव देखियो । पञ्चायतबाट बहुदलीय प्रजातन्त्र हुँदै गणतन्त्रमा आइसक्दा शिक्षा निति (शिक्षा ऐन २०२८) किन नफेरेको ? वन नीति …..नीतिहरु फेर्न केले रोक्यो ? के यसबाट जनतालाई काम गर्न सजिलो भएको छ ? हैन भने किन नफेरेको ? पञ्चायत कालदेखि गणतन्त्रसम्म आइपुग्दा पनि कुर्सीमा टाँसी रहने कतिपय दलको नेता र कर्मचारीबाट पनि देश बन्ने आशा गर्नु त व्यर्थैहो ।

कार्यशैली र प्रवृत्तिमा कुनै सुधार देखिन्न । नीति नियममा सुधार हुन्छ, तर कार्यान्वयन हुन्छ भन्नेमा जनताले आशा मानेका छैनन् । भ्रष्ट्राचार र बेथिति दिन दुई गुणा रात चार गुणा बढिरहेको छ । आशा भन्दा निराशा बढ्दो छ । यो तरिकाले देश बन्छ त ? यिनै नेताहरुको यस्तै कार्यशैली र विद्यमान नीति नियमबाट देश बन्छ जस्तो मलाई लाग्दैन । बसको इन्जिनमा पाङ्ग्रा जोडेर बस उड्छ ? न उड्छ, न गुड्छ ठिक त्यस्तै यहाँ भएको छ । यो व्यवस्था सुन्दर र नविनतम व्यवस्था मानिन्छ ।व्यवस्था अनुसारको नीति र नेतृत्व भए पो देश बन्छ र जनताले शुःख पाउँछन् । जसले यो व्यवस्था मन पराएकै छैनन् । तिनैले नेतृत्व गरिरहेका छन् । कसरी बन्छ देश ।

Advertisement

जताततै बेथिति छ । थितिमा चलेको संस्था कुनै छ ? जनताको आशा र भरोसा भएको कुनै संस्था नै छैन । जताततै, कमिसन, घुस अनि भनसुन बिना कुनै काम बन्दैन । व्यापार व्यवसाय गरौं व्यापार छैन कर अनेकौं प्रकारका छन् । बैंकबाट ऋण लियो बैंकले लुट्छ ।ऋण स्वीकृत गर्दा एउटा ब्याजदरमा गर्छ, लिँदा बढाएर लिन्छ । दल गुण्डा पाल्नै पर्छ । पार्टीहरुलाई चन्दा दिनैपर्छ । खाना खानै पर्यो, लुगाफाटो लगाउनै पर्यो, केटाकेटीलाई लेखपढ गराउनै पर्यो, शैक्षिक व्यापारीलाई पोस्न शुल्क पनि मोटै तिर्नुपर्छ ।अनि मान्छे टिक्न सक्दैन । के गर्छ ? बिदेश जाने योजना बनाउँछ । न ब्यापार व्यवसाय चल्छ, न जागिर पाइन्छ, गुजारा गर्ने कसरि ? अनि देश छोड्ने स्थितिमा पुग्छ । स्वदेशमै बस्ने र केहि गर्ने र गराउने वातावरण त राज्यले बनाउनु पर्ने हैन ? राज्यको ध्यान यतातिर जाँदै जाँदैन । विकासको नीतिमा कुनै फेर बदल छैन । जनताको प्रतिनिधि शासक जस्तो देखिन्छन् ।

चुनाव र कुर्सीको सम्बन्ध जति आत्मीय छ, त्यतिको सम्बन्ध सरकार र जनताको छैन । पहाडका गाउँघर रितिदैँ गएका छन् । जमिन बाँझो हुँदै गएका छन्, घर रित्तो गएका छन् । भएका मध्य पनि बुढाबुढी मात्रै छन् । बसाइँसराइ विकासको मुख्य समस्या बन्दैछ । यसमा समयमै ध्यान दिइएन भने देशको अवस्था भयावह हुनेवाला छ । नेतालाई कुर्सी कसरी हत्याउने र जोगाउने मात्रै चिन्ता छ भने कर्मचारीको पद र पैसा कसरी कमाउने बाहेक अन्त ध्यान छैन । देश बनाउने चाहिँ कसले ? कर्मचारी दलहरु र नागरिक सबै जिम्मेवार भए पो देश बन्छ त । यहाँ त जिम्मेवार कोहि देखिन्न, खालि अरुलाई धारेहात लाउने आरोपप्रत्यारोप गर्ने बाहेक केहि देखिन्न । यि र यस्ता प्रकारका नेता नीति र प्रवृत्तिबाट जनता आजित छन् । यसको लागि पनि असफल भैसकेको पुरानो नीति र नेताहरु विकासको मुख्य बाधक छन् । यिनलाई फेरौं र हेरौं । धन्यवाद !

Advertisement