चैनपुर । बझाङको छविसपाथिभेरा गाउँपालिका–२, जयपृथ्वी नगर मेल्लेखस्थित सत्यावादी माध्यमिक विद्यालयलाई शनिबार एक विशेष समारोहका बीच शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरिएको छ।
शनिबार जयपृथ्वी बहादुर सिंहको १४९औँ जन्मजयन्तीको अवसर पारेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बझाङका जिल्ला सहसचिव तथा संगठन विभाग प्रमुख मुकेशबहादुर ऐडीले आफ्नी स्वर्गीय काकी रुमला ऐडी र भाई उदिप ऐडीको स्मृतिमा उक्त सामग्री प्रदान गरेका हुन् ।
Advertisement
विद्यालय प्रशासनका अनुसार एडीले विद्यालयलाई ९–९ सेट पुरुष तथा महिला खेलकुद पोशाक, ३ थान भलिबल, १ थान भलिबल नेट तथा १ थान पम्प प्रदान गरिएको छ ।
सामग्री हस्तान्तरणसँगै विद्यालयका शिक्षकहरूले नियमित पठनपाठनसँगै खेलकुद गतिविधिमा समेत विद्यार्थीहरूको सक्रियता बढ्ने विश्वास व्यक्त गरेका छन् ।
Advertisement
कार्यक्रमका प्रमुख अतिथि पूर्वसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले शिक्षा र खेलकुदलाई समानान्तर रूपमा अघि बढाउनु विद्यार्थीको समग्र विकासका लागि आवश्यक रहेको बताए । उनले भने, ‘अनुशासन, क्षमता र आत्मविश्वास विकास गर्न शिक्षा र खेलकुद एक–अर्काका पूरक हुन् । यस्ता सहयोगहरूले गाउँ–गाउँका विद्यार्थीमा थप प्रेरणा जगाउँछ, त्यसैले यसलाई निरन्तरता दिनु आवश्यक छ ।’
युवा राष्ट्रको कर्णधार भएको बताउँदै पूर्वमन्त्री जोशीले खेलकुद सामग्री हस्तान्तरणले विद्यार्थीहरूलाई शैक्षिक गतिविधिसँगै खेलकुदमा पनि सक्रिय बनाउने विश्वास व्यक्त गरे । साथै, पूर्वमन्त्री जोशीले ऐडी परिवारलाई धन्यवाद दिँदै सामाजिक उत्तरदायित्व बोध गराउन युवा समाजसेवी मुकेश एडीको कार्यको प्रशंसा गर्दै युवाहरुलाई समाजसेवामा लाग्न प्रेरित गरेको बताए ।
Advertisement
खेलकुद सामग्री हस्तान्तरण गर्दै सहसचिव ऐडीले दिवंगत काकी र भाईको सम्झनामा गरिएको यो कार्यले विद्यार्थी भाईबहिनीहरूलाई खेलकुद तथा शैक्षिक क्षेत्रमा उत्कृष्टता हासिल गर्न सहयोग पुर्याउने बताए । उनले आगामी दिनमा पनि शिक्षा र खेलकुद क्षेत्रमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनका अनुसार शिक्षा र खेलकुदलाई सन्तुलित रूपमा अघि बढाउन सके ग्रामीण क्षेत्रका विद्यार्थीहरूले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सफलता हासिल गर्न सक्ने विश्वास गरिएको छ । ऐडी छविसपाथिभेरा गाउँपालिकाका खेलकुद समिति सदस्य समेत हुन् ।
सत्यवादी विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुर्यबहादुर कडायतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय समाजसेवी, अभिभावक, शिक्षक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।























प्रतिक्रिया