धनगढी । सरकारले भारतबाट ल्याइने १०० रुपैयाँभन्दा बढी मूल्यका सामानहरुमा भन्सार महसुल अनिवार्य तिर्नुपर्ने बनाएसंगै सीमावर्ती बजारहरु सुनसान भएका छन् । सुदूरपश्चिमका नाकाहरुमा नियम कडाइ गरेपछि सीमावर्ती क्षेत्रका भारतीय बजारहरुमा चहलपहल उल्लेख्य रूपमा घटेको हो । यसअघि दैनिक रूपमा किनमेलका लागि भारतीय बजार धाउने नेपालीहरूको भीड अहिले न्यून भएको स्थानीय व्यापारीहरू बताउँछन् ।
कैलाली र कञ्चनपुरसँग जोडिएका प्रमुख नाका त्रिनगर र गड्डचौकी हुँदै भारतका बनगाउँ, पलिया लगायतका बजारमा जाने नेपालीहरूको सङ्ख्यामा तीव्र कमी आएको छ । कञ्चनपुरको डोकेबजारमा व्यापार गर्दै आएका स्थानीय व्यापारी विमल चौधरीका अनुसार पहिले जस्तो किनमेलका लागि भारतीय बजारमा जाने भीड अहिले देखिँदैन । ‘सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा कर तिर्नुपर्ने भएपछि मानिसहरू झन्झट मान्न थालेका छन् । त्यसैले भारत बजारमा जानेहरूको सङ्ख्या घटेको हो’, उनले भने ।
Advertisement
यसअघि सस्तो मूल्यका कारण भारतीय बजारमा निर्भर रहने नेपाली उपभोक्ताहरू अहिले भन्सार प्रक्रियाका कारण निरुत्साहित भएका छन् । परिणामस्वरूप, सीमावर्ती भारतीय बजारहरूमा नेपाली ग्राहकको उपस्थिति घटेको छ भने स्थानीय नेपाली बजारमा केही चहलपहल बढ्ने संकेत देखिएको छ ।
सरकारको निर्देशनपछि सीमावर्ती नाकाहरूमा निगरानी कडा पारिएको छ । कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार नियम लागू भएपछि भारत जाने र सामान ल्याउने गतिविधिमा ८० प्रतिशतले कमी आएको छ । विशेष गरी गौरीफन्टा नाकाबाट हुने आवतजावतमा ठूलो गिरावट देखिएको उनले बताइन् ।
Advertisement
सरकारको यो कदमले राजस्व संकलनमा सुधार ल्याउने अपेक्षा गरिए पनि सीमावर्ती व्यापार र उपभोक्ता व्यवहारमा भने प्रत्यक्ष प्रभाव परेको देखिन्छ । अब आगामी दिनमा यसले स्थानीय अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ ।






















प्रतिक्रिया