काठमाडौँ । सरकारले नेपाल औषधि लिमिटेडको रिक्त अध्यक्ष पदमा यज्ञप्रसाद न्यौपानेलाई पुनः नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले न्यौपानेलाई अध्यक्ष बनाउने निर्णय गरेको हो।
नेपाल औषधि लिमिटेडको नेतृत्वमा न्यौपानेको यो दोस्रो प्रवेश हो। यसअघि २०७९ देखि २०८२ सालसम्म उनले संस्थाको पूर्ण कार्यकाल नेतृत्व गरेका थिए। आर्थिक तथा व्यवस्थापकीय रूपमा कमजोर अवस्थामा पुगेको नेपाल औषधी लिमिटेडलाई पुनः गति दिने प्रयासका कारण उनको पहिलो कार्यकाल चर्चामा आएको थियो।
Advertisement
फार्मास्युटिकल क्षेत्रमा लामो अनुभव हासिल गरेका न्यौपाने २०६८ देखि २०७२ सालसम्म नेपाल फार्मेसी काउन्सिलको अध्यक्षसमेत रहिसकेका छन्। यसपटक भने उनी खुला प्रतिस्पर्धाबाट सिफारिस हुँदै नेपाल औषधी लिमिटेडको अध्यक्ष पदमा नियुक्त भएका हुन्।
हुवासदेखि औषधी क्षेत्रको नेतृत्वसम्म
Advertisement
आजभन्दा करिब छ दशकअघि पर्वतको हुवास गाउँमा जन्मिएका न्यौपानेको यात्रा सामान्य ग्रामीण परिवेशबाट सुरु भएको थियो। गाउँमै हुर्किएका उनी पढाइमा भने अब्बल विद्यार्थीका रूपमा चिनिन्थे।
उनले पर्वतको त्रिवेणीस्थित श्री निर्मल जनसेवा माध्यमिक विद्यालयबाट २०३७ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरे। त्यस समय गाउँबाटै दश कक्षासम्मको शिक्षा पूरा गर्नु सहज थिएन। अझ उच्च शिक्षाका लागि राजधानी पुग्नु धेरैका लागि चुनौतीपूर्ण थियो।
Advertisement
तर न्यौपानेको अध्ययनप्रतिको लगावले उनलाई गाउँबाट काठमाडौं हुँदै औषधी विज्ञानको क्षेत्रमा पुर्यायो। उनले ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसबाट २०३८ देखि २०४० सालसम्म आईएस्सी अध्ययन गरे। ग्रामीण पृष्ठभूमिबाट आएका उनले विज्ञान विषयमा उत्कृष्ट प्रदर्शन गरे।
आईएस्सीपछि उनको अध्ययन यात्राले अर्को मोड लियो। २०४१ सालमा भारत सरकारको छात्रवृत्ति प्राप्त गरेपछि उनी भारतको इन्दौरस्थित कलेज अफ फार्मेसीमा फार्मेसी अध्ययनका लागि पुगे। २०४६ सालसम्म भारतमा रहेर अध्ययन गरेका न्यौपानेले त्यहाँ पनि आफ्नो शैक्षिक उत्कृष्टतालाई निरन्तरता दिए।
गाउँको सामान्य परिवेशबाट सुरु भएको उनको यही शैक्षिक यात्रापछि नेपालको फार्मास्युटिकल क्षेत्रको नेतृत्वसम्म पुग्ने आधार बन्यो। लामो समय औषधी तथा फार्मेसी क्षेत्रसँग जोडिएका न्यौपाने अब दोस्रोपटक नेपाल औषधी लिमिटेडको नेतृत्वमा फर्किएका छन्।
पहिलो कार्यकालमा कमजोर अवस्थामा रहेको संस्थालाई उकास्ने प्रयास गरेका न्यौपानेसामु यसपटक संस्थालाई थप सबल, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउने चुनौती छ।






















प्रतिक्रिया