गलकोट । बागलुङ नगरपालिकाले कानून विषय अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्न थालेको छ । प्राविधिक तथा अन्य विषयलाई राज्यले समेत प्रोत्साहन गरे पनि कानून विषय थोरैको रोजाइमा पर्ने भन्दै नगरपालिकाले कानून पढ्ने विद्यार्थी बढाउन पहिलोपटक छात्रावृत्तिका व्यवस्था मिलाउन आवेदन खुलाएको छ ।
सबै वर्ग, तह र तप्काका व्यक्तिको न्यायमा सहज र सरल पहुँच स्थापित गर्न कानुनका विद्यार्थी उत्पादन गर्न आवश्यक रहेको भन्दै नगरपालिकाले एक वर्षमा २० विद्यार्थीलाई कानून विषय पढाउने भएको छ । न्याय खोज्न अदालत मात्र जाने परिपाटीलाई हटाउन, स्थानीय तहको न्यायिक समितिप्रतिको पहुँच विस्तार गर्न सहयोग पुग्ने गरी नगरपालिकाभित्रका विद्यार्थीलाई कानून विषयमा अध्यापन गराउन कक्षा ११ र १२ मा लाग्ने सबै शुल्क तिर्ने भएको हो ।
Advertisement
न्याय सम्पादनमा कानूनी विज्ञता भएका व्यक्तिको अभाव, कानूनप्रति विद्यार्थीको आकर्षण नहुनुलाई मध्यनजर गर्दै कानून विषयमा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पढाउने व्यवस्थाका लागि विद्यार्थीलाई आवेदन माग गरिएको बागलुङ नगरपालिका नगरउपप्रमुख राजु खड्काले जानकारी दिए ।
न्यायिक समितिलाई संविधानले न्यायको पहुँच स्थानीयस्तरसम्मै सुनिश्चित गर्ने हेतुले अघि सारेको विषयलाई विश्वसनीय ढङ्गले आमजनतामाझ पुर्याउन जरुरी छ,’ उपप्रमुख खड्काले भने, ‘समुदायमा न्यायिक ज्ञान अभावले धेरै जनताले दुःख पाइरहेको देखेर बागलुङ नगरपालिकाका विद्यार्थीलाई कानून विषयमा अध्ययन गर्ने वातावरण तयार गरी जनताको न्यायको सारथी बनाउने हाम्रो प्रयास हो ।’
Advertisement
समाजमा कानूनको अध्ययन र कुशल मेलमिलापकर्ताको आवश्यकता महसुस गरेर न्यायिक समितिले कानून पढाउनका लागि विधार्थीलाई प्रोत्साहन गर्न थालेको खड्काले बताए । कानून विषय अध्यापन गराइरहेको आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयसँग एक वर्षमा कक्षा ११ र १२ का विद्यार्थी गरी १०-१० जनाको सम्पूर्ण शुल्क व्यहोर्ने गरी सम्झौता गरिने छ । रासस
प्रतिक्रिया