कोदोको माग बढ्दै, उत्पादन घट्दै

डोटी । जिल्लामा कोदोको माग बढ्दै गईरहेका बेला उत्पादन भने घट्दै गएको छ । कृषि ज्ञान केन्द्र डोटीले दिएको सूचना अनुसार डोटी जिल्लामा आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा ४ हजार ३ सय ५० हेक्टर जमिनमा कोदो खेती गरिएको थियो ।

दुवै वर्षमा करीव ५ हजार २ सय ७१ मेट्रिकटन कोदो उत्पादन भएको थियो । आर्थिक वर्ष २०८०/८१ मा ४ हजार २ सय ९० हेक्टरमा कोदो लगाईएको र ५ हजार १ सय ९० मेट्रिकटन उत्पादन भएको ज्ञान केन्द्रले जानकारी दिएको छ ।

Advertisement

बजारमा नयाँ नयाँ खाद्या सामग्रीहरु पाईन थालेपछि उपभोक्ताहरूको खानपिन फेरिएका कारण किसानले कोदो लगाउन छोडेको वताउँछन कृषि ज्ञान केन्द्र डोटीका कार्यालय प्रमुख गंगादत्त अवस्थी ।

किसान र उपभोक्ता दुवैले कोदोलाई घृणाको खेतीका रुपमा बुझ्न थालेपनि पछिल्लो समयमा बजारमा माग बढिरहेको अवस्थीको भनाई छ ।

Advertisement

‘किसानले कोदोको सट्टा अन्य बाली लगाउदा कोदो उत्पादनमा कमी आएको छ’ अवस्थी भन्छन् ‘कोदो उत्पादन र उपभोगमा किसानहरु स्वयं पनि हिचकिच्याउने गरेका छन् ।’ तर बजारमा भने कोदोको माग असाध्यै बढेको अवस्थीको दावी छ ।

चालु आर्थिक बर्षमा कोदोको उत्पादन बृद्धि गर्ने गरी योजना बनेको अवस्थीले वताए । ‘कोदो प्रवद्र्धनको लागि यो आर्थिक वर्षमा कार्यक्रम राखेका छौं’ अवस्थीले भने ‘गहुँ काटिसकेपछि कोदो खेती विस्तार गर्ने गरी तयारी गरिरहेका छौं ।’

Advertisement

जिल्लामा कुल खेतीयोग्य जमिन ३२ हजार २ सय ७६ हेक्टर रहेको छ । जसमध्ये हाल २५ हजार ५ सय हेक्टर जमिनमा खेती गरिदै आएको छ भने ६ हजार ७ सय ७६ हेक्टर जमिन बाँझो रहेको कृषि ज्ञान केन्द्र डोटीले जानकारी दिएको छ ।

पहिले कोदो प्रशस्तै मात्रामा फलेपनि बजारीकरणमा समस्या भएपछि कोदो खेतीप्रतिको मोह घट्दै गएको किसानहरू बताउँछन् ।

पहिले लेकाली भेगमा प्रशस्त उत्पादन हुने कोदो वर्तमान समयमा उत्पान हुने छोडोको पूर्विचौकी गाउँपालिका–२ का गोरख ठकुल्ला बताउँछन् ।

उनले भने ‘पहिलेका किसान अहिले वैदेशिक रोजगारीमा हिँडे, कोदो मात्रै हैन स्थानीय स्तरमा फलाइने सबै अन्न लोप भएको छ ।’ ठकुल्लाका अनुसार पहिले कोदो खेती गरिने जमिन अहिले बाँझो रहेको छ ।