निर्मला जोशी
गौरा पर्व नेपालको सुदुरपश्चिम र कर्णाली (केहि भाग) को एउटा महत्वपुर्ण एवं उत्कृष्ट सांस्कृतिक पर्व हो । भदौ महिनामा पर्ने यो पर्व कर्णालीको केहि भाग र सुदुरपश्चिममा विशेष रुपले मनाइन्छ । यो पर्व भारतको कुमाउ गढवाल खण्डमा पनि मनाईने गरिन्छ । यस पर्वमा शिव र पार्वतीको विशेष पुजा अर्चना गरिन्छ । प्राय जसो भाद्र शुक्ल पञ्चमीदेखि नवमीसम्म पाँच दिन मनाइने यस चाडको ठूलो धार्मिक, सांस्कृतिक र सामाजिक महत्व रहेको छ । यस पर्वमा विभिन्न किसिमका गीतहरु गाएर र देउडा नाँच नाचेर रमाइलो गरिन्छ । हिमालय पुत्री पार्वतीको अर्को नाम गौरी भएको र हाम्रो समाजमा परम्परादेखि गौरीलाई गौरा वा गमरा वा शुद्ध डोटेली भाषामा गोरा भन्ने गरेको कारण यस पर्वको नाम परापूर्वकालदेखि नै गौरा पर्वको नामले यस क्षेत्रमा धुमधामका साथ मनाउने गरिएको छ ।
Advertisement
यस पर्वमा गौरा अर्थात पार्वती र महेश्वर अर्थात महादेवको पूजा गरिन्छ । महिला उपवास बसी स्नान गरी, शुद्ध पवित्र र नयाँ वस्त्र लगाएर शिव पार्वतीको पूजा आजा गर्छन् । महिलाहरु परिवारका सदस्यको सुस्वास्थ्य तथा दीर्घायुको कामनाका लागि व्रत बस्छन् । त्यसकारण यस पर्वको माध्यमले देवाधिदेव महादेव र गौरीको पुजा आराधना गरेर आफ्नो आत्मालाई परमात्मासँग जोड्ने एक माध्यम गौरा पर्व भएकोले यसको ठूलो धार्मिक महत्व छ ।
भाद्र शुक्ल पञ्चमी देखि शुरु हुने गौरा पर्वको पहिलो दिन महिलाहरुले घरघरमा तामाको भाँडामा बिरुडा भिजाउने गर्दछन् । त्यसैले यस पञ्चमीलाई बिरुडा पञ्चमी भनिन्छ यस दिन विरुडा भिजाउने काम गरिन्छ । बिरुडा पाँच प्रकारका अन्नहरु (मास, केराउ, गहत, गहुँ र गुराँश) मिलाइ बनाइन्छ । भोलिपल्ट (षष्टीका दिन) भिजाएका बिरुडा नजिकैको पवित्र धारा, मुहान, न्वालोमा लगेर धोइन्छ , यसरी सामुहिक रुपमा धोएको विरुडालाई घरको पुजा कोठा वा मठ मन्दिरमा केराको पातमा फिजाएर राखिन्छ र त्यहि विरुडालाई सप्तमीको दिन गोरा भित्र्याउने वेला प्रसादको रुपमा चढाईन्छ र त्यो चढाएको विरुडाले अष्टमीको दिन दिनभरी गोरा र महेश्वरको जन्म देखि विवाह सम्मको लिलालाई फाग र गितको माध्यम बाट पुजाआराधना गरिन्छ । सप्तमीमा धानको खेतबाट साँवाको बोट र बलबो सहित सञ्जा गौरा ल्याएर त्यस घाँसलाई मिलाएर एक दुन्दर देविको रुपमा पहिरन र गहना समेतले सिंगारपटार गरेर गौराको आकृति दिईन्छ र गौरा देवीलाई नजिकको गौरा घर (मठ मन्दिर) मा भित्रयाउने चलन छ । व्रत बसेका महिलाहरुले गौरालाई गौराघर तथा मन्दिरमा राखी कन्याको रुपमा पूजा गर्ने चलन छ ।
Advertisement
‘तृतियैका दिन इजु बिरुडी खोजेया
चौथींका दिन इजु बिरुडी निकेया
पञ्चमीका दिन इजु बिरुडी भिजाया
षष्टमीका दिन इजु बिरुडी धोएया
सप्तमीका दिन इजु म माइत बोलाया”
अष्ठमीको दिन व्रत वसेर गौरा पर्व मनाउने स्थलमा (गौरा खला) पार्वती र शिवको पूजा गर्ने परम्परा छ यसलाई स्थानिय भाषामा अठेवाली भनिन्छ । यस पर्वमा शिव र पार्वतीको प्रेम र विवाहको स्मरण गर्दै व्रत बसी विधिपूर्वक शिव र पार्वतीको विशेष पुजा गरिन्छ । गौरापर्वमा व्रतालु तथा तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ , यस पर्वमा विषेश गरि अष्टमीको दिन अठेवाली गाएर शिव पार्वतीको पुजाआराधना गरिन्छ भने रमाईलोकोलागी घमारी, फाग, देउडा जस्ता गीतहरु गाउने तथा देउडा खेल्ने चलन छ । प्राय: जसो महिलाहरुले घमारी फागजस्ता गीतहरु गाउने गर्दछन् भने पुरुषहरुले देउडा खेली रमाइलो गर्ने गर्दछन् । अठेवाली (अष्टमी)को दिन दिनभरी शिव पार्वतीको पुजाआजा गर्ने र बिरुडालाई पूजापछि घरघरमा ल्याएर प्रसादको रुपमा ग्रहण गर्ने गरिन्छ , पञ्च विरुडा घरपरिवार तथा सबै आफन्तहरु प्रशादको रुपमा वर्तालु महिलाहरुको हातबाट शीरमा धारण गर्ने र शुभ आषिश लिने गरिन्छ यसलाई स्थानीय भाषामा मुण्डो पुज्ने भनिन्छ । पञ्चमीको दिन भिजाएका विरुडा टुसाएका हुन्छन र तिनै विरुडा लाई भुटेर प्रसादको रुपमा खाने गरिन्छ जुन स्वास्थ्यको दृष्टिकोणले पनि पौष्टिक हुनुका साथै स्वादिष्ट पनि हुन्छन । गौरा पर्वको अन्तिम दिनमा गौरा सेलाउने गरिन्छ । गौरा पर्वमा वर्त वसी गौरा पुजन गर्ने महिलाहरुले दुवधागो (पवित्र धागो) धारण गर्ने गर्छन , जसरी पुरुषहरुले पवित्र धागोको रुपमा जनै धारण गर्छन ठिक त्यसै गरि महिलाहरुले धारण गर्ने पवित्र धागोलाई दुबधागो भन्ने गरिन्छ ।सामान्यतया भाद्र शुक्लपक्षमा पर्ने गरेता पनि कहिलेकाही भाद्र कृष्णपक्षमा पनि पर्ने गर्छ नयां गौरिया पहिलो चोटी गोरा वर्त बस्ने महिलाको लागी शुक्लपक्षको गोरा उत्तम मानिन्छ । शुक्ल पक्षको गोरा लाई उजेली र कृष्ण पक्षको गोरालाई अनेरी गोरा भन्ने गरिन्छ ।
Advertisement
नाच हो नाच हो लोली गमरा धैं तमरो कसो नाच ।
नाच हो नाच हो महेश्वरौ तमरो कसो नाच ।।
नाच हो नाच हो लोली गमरा तमै बटी नाच।
नाच हो नाच हो महेश्वरौ तमै बटी नाच।।
लुड़की नाचिन लोली गोरा पुड़की बज्या ढोल।
नाच हो नाच हो लोली गमरा तमै बटी नाच।।
गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैतलो, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् । अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पु¥याउने मात्र नभई यस वर्षमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ । गौरा सेलाउँदा गौराघरकी देवीलाई डोलीमा वा डालामा राखी मङ्गल धुन बजाउँदै र फूलपाती चढाउँदै पवित्र ठाउंमा लगेर सेलाउने गरिन्छ । समान्यतयास् वरपिपलको रुखको वा अन्य मठ मन्दिरको नजिकको रुखको हांगामा सेलाउने गरिन्छ । देवीलाई चढाएको फलफुल र प्रसाद चाहिँ सफा कपडामा (चादरमा) राखी दुई जनाले दुबतिर वाट समातेर आकाशतिर पांर चोटी फाल्ने गरिन्छ जसलाई फलफटकाउने भनिन्छ । यसरी फालिएको फलफूल पक्रन भिड लाग्छ । राम्रो फलफूल पक्रनेको भाग्य राम्रो हुन्छ भन्ने भनाइ छ । आफ्ना सबै आफन्तहरुलाई बिरुडा प्रसादको रुपमा पठाउने चलन छ । गौरा पर्व शान्ति र सदभावको पर्व हो । पहिले पहिले यसै पर्वमा नयाँ लुगा किन्ने गरिन्थ्यो , आजभोली पनि वर्तालु महिलाहरुले यस पर्वमा नयां लुगा किन्ने र लगाउने गर्दछन र मिठामिठा खानेकुरा खाएर मनाइन्छ । यस पर्वमा देश विदेशमा रहेका आफन्तजनहरु घर आउने गर्दछन् र सबै परिवारका सदस्यहरु मिलेर गौरा पर्व धुमधामका साथ मनाउने गर्दछन् ।
गौरा पर्व डोटी समुदायमा परम्परादेखि चल्दै आएको नारीप्रधान मौलिक पर्व हो । यस पर्वलाई यो क्षेत्रमा दसैँभन्दा पनि बढी महत्व दिएर प्राचीन कालदेखि मनाइँदै आएको पाइन्छ । यस पर्वको कहिले, कहाँ र कसबाट मनाउन सुरु गरियो भन्ने खासै तत्वगत प्रमाण भेटिएका छैनन् तर पनि श्रीमद्देवी भागवत र पुराणमा गौराष्टमीको विषयमा उल्लेख भएको आधारमा गौरा पर्वलाई पौराणिक पर्वका रूपमा पनि मान्न सकिन्छ । गौराष्टमीको विषयमा श्रीमद्देवी भागवत पुराणमा भविष्य पुराण र स्कन्द पुराणको मानस खण्डमा वर्णन गरिएको कुरा देखिन्छ ।
स्कन्द पुराणको मानसखण्डमा उल्लेख भए अनुसार कैलाश पर्वतको राजा हिमालयकी छोरी गौरीले महादेव पति पाउँ भनी बाह्र वर्षसम्म कठोर तपस्या बसेकोले महादेव खुसी भई दर्शन दिई गौरी र शिवको विवाह भएको दिनदेखि नै सम्पूर्ण नारीले गौरी र महादेवको पूजाआजा गरी शिव पार्वतीको आराधना गर्ने र मनको चिताएको वर माग्ने प्रचलनका साथमा गौरा पर्व मनाइँदै आएको मान्न सकिन्छ ।
प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुनले भृगुवंशी ब्राह्मणँहरूबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्रह्मणलाई मारिदिएपछि विधवा भएकी ब्राह्मणीहरूले आफ्नो सतित्व रक्षार्थ निराहार रही गरेका उपासनाको फलस्वरुप एक ब्राह्मणीले तेजिलो पुत्र लाभ गरिन् र सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नु परेकाले गौरीलाई सर्वशक्तिमान सम्झी उनकै सम्झनामा गौरा पर्व मनाउन थालिएको भन्ने प्राचिन भनाई रहेको छ । हाल सरकारले यस पर्वमा देशभर गौरा पर्व मनाउने समुदायलाई सार्वजनिक विदा दिने गर्दछ ।
प्रतिक्रिया