धनगढी । अब कक्षा ११ र १२ मा फेल भएर पढाइ पूरा गर्न नसकेका २०५६ सालयताका परीक्षार्थीले पनि मौका परीक्षा दिन पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले आइतबार सूचना प्रकाशन गर्दै २५ वर्षअघि ११ र १२ मा भर्ना भई फेल भएका परीक्षार्थीलाई अन्तिम मौकास्वरूप एकपटक परीक्षा दिन पाउने व्यवस्था गरिएको जानकारी दिएको हो ।
सूचनामा उल्लेख भएअनुसार रजिस्ट्रेसन नम्बरको सुरूको अंक ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम भएका परीक्षार्थीहरू सहभागी हुन पाउनेछन् । यसमा २०५६ सालदेखि २०७६ सालभित्र भर्ना भई फेल भएका परीक्षार्थीहरू सहभागी हुन पाउनेछन् ।
Advertisement
अंक प्रणालीमा कुनैपनि विषयमा अनुत्तीर्ण भएका तथा अक्षरांकन पद्धतिमा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीहरू सहभागी हुन पाउने भएका हुन् ।
प्रयोगात्मकतर्फ फेल भएका विद्यार्थीहरू पनि सहभागी हुन पाउने बोर्डले जनाएको छ । ११ र ११ दुवैमा फेल भएका परीक्षार्थीहरूले पनि परीक्षामा सहभागी हुनका लागि फाराम भर्न सक्नेछन् । त्यस्ता विद्यार्थीले सम्बन्धित विद्यालयबाट मंसिर २७ गतेभित्र आवेदन फाराम भरिसक्नुपर्ने बोर्डले जनाएको छ ।
Advertisement
त्यस्तै, त्यतिबेला सञ्चालनमा रहेका तर हाल खारेज भइसकेका वा सञ्चालनमा नरहेका विद्यालयका विद्यार्थीले पनि बोर्डमा सोझै सम्पर्क राखेर आवेदन फाराम बुझाउन सक्नेछन् । परीक्षा केन्द्र र मिति आवेदन फारामको संख्या अनुसार तोकिने बोर्डले जनाएको छ ।
प्रतिक्रिया