धनगढी । युवती प्रयोग गरेर बलात्कार मुद्दामा फसाउने भन्दै घरजग्गासँग रकम असुलेको आरोपमा मुद्दा दायर भएपछि फरार रहेकी भैँसेपाटी प्रभागकी तत्कालीन प्रहरी निरीक्षक बिनुकुमारी शाहीले अदालतसमक्ष आत्मसमर्पण गरेकी छिन् । व्यवसायीलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुल गरेको आरोपपछि उनी निलम्बनमा परेकी थिइन् ।

प्रहरीले छानबिन समिति बनाएर घटनाको अनुसन्धान थालेपछि फरार रहेकी शाही आइतबार जिल्ला अदालत ललितपुरमा उपस्थित भएकी हुन् । शाहीको बयान सकिएपछि हुने थुनछेक बहसपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने वा साधारण तारेख तथा धरौटीमा रिहा गर्ने आदेश दिनेछ ।
Advertisement
उनीमाथि प्रहरी हिरासतमा रहेका आरोपितलाई बलात्कार मुद्दामा फसाइदिने धम्की दिएर ३० लाख रुपैयाँ असुलेको आरोप छ । उक्त आरोपमा उनीसहित ६ जनाविरुद्ध संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो । ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकराज जोशीको इजलासले गत १३ मंसिरमा घटनाका मुख्य योजनाकार ताज इस्लामलाई थुनामा पठाउने आदेश गरिसकेको छ । अर्का प्रतिवादी भीमादेवीलाई २ लाख र सुस्मा विकलाई १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
अर्का प्रतिवादी प्रहरी सहायक हवल्दार महेन्द्र हमाल भने साधारण तारेखमा रिहा भएका छन् । घटनामा प्रतिवादी बनाइएका इन्सपेक्टर शाही र सुनसरीका दर्शन पोखरेल भने फरार थिए ।
Advertisement
के हो घटना ?
प्रहरीले गरेको अनुसन्धानअनुसार पीडित व्यवसायी र प्रतिवादी सुस्मा विकबीच गत साउनदेखि चिनजान थियो । सुस्मा मोरङको एक होटलमा काम गर्थिन् । त्यसैक्रममा उनीहरू नजिकिएका थिए । सुस्मा र व्यवसायीको सम्बन्ध थाहा पाएपछि ताजको समूहले सुस्मालाई प्रयोग गरेर रकम असुलेको आरोप छ । त्यसका लागि अनुकूल ठाउँको खोजी गर्दै प्रहरी प्रभाग भैँसेपाटी पुगेको प्रहरीको निष्कर्ष छ ।
Advertisement
योजनाअनुसार सुनसरीबाट ताज र दर्शन जहाजमा र सुस्मा र भीमा गाडी चढेर काठमाडौँ आएका थिए । ७ असोजमा शान्ति सुरक्षाको विषय उठाएर व्यवसायीविरुद्ध निवेदन दिए । पछि बलात्कारको विषयमा छलफल गराएर रकम असुलिएको खुलेको थियो । घटनाबारे छानबिन गर्न प्रहरी परिसर ललितपुरले डिएसपी नरहरि अधिकारीको नेतृत्वमा बनाएको समितिले योजनाकार ताज स्लामको मोबाइल र १० लाख रुपैयाँको चेक समेत गायब बनाइएको निष्कर्ष निकालेको थियो ।
व्यवसायीले नगद २० लाख रुपैयाँ प्रतिवादी भीमादेवीको खातामा जम्मा गरेका थिए भने १० लाखको चेक दिएका थिए । सबै काम इन्सपेक्टर बिनुको रोहबरमा भएको अनुसन्धानबाट खुलेपछि उनलाई पनि प्रतिवादी बनाइएको थियो ।
प्रतिक्रिया