धनगढी । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन, सञ्चालन तथा सेवाका सर्तसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् ।

प्रदेशसभाबाट जेठ १९ गते पारित भएको उक्त विधेयकलाई आज प्रदेश प्रमुखले प्रमाणीकरण गरेका हुन् । असार १२ गते विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुख कार्यालयमा पत्र प्राप्त भएको थियो । तीन दिनसम्मको अध्ययनपछि आज प्रदेश प्रमुख मियाँले विधेयकमा हस्ताक्षर गरेको प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अलीले जानकारी दिए ।
Advertisement
लामो समयदेखि प्रतीक्षित यो विधेयकले अब सुदूरपश्चिम प्रदेशभित्रका स्थानीय तहमा कर्मचारी व्यवस्थापन, सेवा प्रवाह र कार्यसम्पादनको स्पष्ट आधार तयार गर्ने अपेक्षा गरिएको छ ।
सङ्घीयता कार्यान्वयनसँगै कर्मचारीको व्यवस्थापन सम्बन्धी कानुनी खाँचो रहेको भन्दै स्थानीय सेवा गठन सम्बन्धी विधेयक प्रदेशसभामा लामो समयदेखि विचाराधीन थियो । प्रदेश प्रमुखले विधेयक प्रमाणीकरण गरेपछि अब राजपत्रमा प्रकाशित हुने छ । त्यसपछि कार्यान्वयन प्रक्रियाले गति लिनेछ ।
प्रतिक्रिया