देशभर मनसुनी वायुको प्रभाव:

आज राति चार प्रदेशमा भारी वर्षाको सम्भावना

 

धनगढी । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले अधिकांश भू-भागमा मौसममा बदली हुनुका साथै विभिन्न स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारण बदली तथा मधेस प्रदेशमा आंशिक बदली रहेको छ । यसैगरी बागमती र लुम्बिनीका केही स्थानहरू तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

Advertisement

आज दिउँसो देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बदली रहने तथा तराई भू-भागमा आंशिक बदली हुने प्रक्षेपण गरिएको छ । यसै क्रममा हिमाली भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। त्यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूका साथै कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने देखिन्छ । तराईतर्फ लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानहरू तथा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति भने मौसम थप सक्रिय हुने देखिन्छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बदली रहनेछ भने कोशी, मधेस र बागमती प्रदेशमा साधारणतया बदली हुनेछ । रातिको समयमा देशका हिमाली भू-भागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ ।

Advertisement

विशेष गरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका धेरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ । साथै कोशी, मधेस र बागमती प्रदेशका पहाडी भू-भागका केही र तराईका थोरै स्थानमा पनि वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

Advertisement