काठमाडौँ । मनोरञ्जनको आयाम मात्रै होइन, संगीत । यो त समाज र जनताको पीडा अभिव्यक्त गर्ने सशक्त माध्यम हो । वा भनौँ, हृदयको अन्तस्करणमा गुम्सिएका भावना पोख्ने बृहत माध्यम हो । महिलाहरुको महान चाड हरितालिका तीज नजिकिँदै गर्दा भोटेकोशी र त्रिशुलीमा आएको बाढीपछि शोकमा रहेका नागरिकको पीडा अझै कम भएको छैन । तर, नागरिकको त्यहीँ पीडामा मलम लगाउने गरी गायक सुरेश शाहीको एउटा गीत बजारमा आएको छ, ‘आँशु बरर’।
नेपाली समाजको परिवारभित्र पाइने औसत पीडा, सासु-बुहारीको नोकझोक, श्रीमतीको रहर र श्रीमानको बाध्यतालाई केन्द्रमा राखिएको उक्त गीत सुमित्रा खड्काले लेखेकी हुन् । सुरेश र विनुशा राईले स्वर दिएकोमा नरेश बिबिसीले मिक्सिङ गरेका हुन् । गीतको भिडियोमा सुरेश र सुमित्रासहित सुदिपा पाठक, विक्की विश्वकर्मालगायत फिर्चड छन् ।
Advertisement
पछिल्लो समय अश्लिल र द्वीअर्थी शब्दले भरिएका गीतको बिगबिगी भइरहँदा ‘आशुँ बरर’ भने नितान्त फरक र मौलिक पाइन्छ । गायक सुरेशलाई लाग्छ- मौलिकता र संस्कृतिलाई नै दुर्लभ अवस्थामा पुर्याउनेगरी अरुको नक्कल गरेर भ्यूजको पछाडि लाग्नु असल सर्जकको दायरा होइन ।
‘आजका दिनसम्म मैले जति पनि सिर्जना गरे, त्यसलाई समाजको माटो र गहिराइसँग जोड्ने प्रयास गर्छु’, उनी भन्छन्, ‘यस गीतमा पनि नेपाली समाजको मौलिक कथावस्तु समावेश छ, श्रीमान-श्रीमती, सासु-बुहारीको कथालाई पनि प्रेमील ढंगले प्रस्तुत गरेका छौँ ।’
गीतकार सुमित्रालाई राम्ररी थाहा छ कि पछिल्लो समय बजारमा छाडा शब्द भएका गीतहरु व्यवसायीक रुपमा सफल भएका छन् । तर उनलाई त्यसप्रति कुनै चासो छैन । ‘अश्लिल र छाडा गीतले क्षणिक चर्चा त पाउँला, तर त्यसले हाम्रो कला र संस्कृतिलाई दीर्घकालीन असर गरिरहेको हुन्छ’, उनी भन्छिन्, ‘यो गीतबाट हामीले दिदिबहिनी र दाजुभाईहरुको कथा भन्न खोजेका हौँ, हामीलाई विश्वास छ, शोकमा रहनुभएका जनतालाई यो गीतले केही हदसम्म भए पनि पीडा भुल्न सहयोग गर्ने छ ।’
Advertisement
गीतमा उठाइएको सुनको कथावस्तुबारे पनि सुमित्रा थप्छिन्,‘एउटा श्रीमतीलाई श्रीमानले आफ्नो रहर पुरा गरिदेओस् भन्ने चाहना हुनु स्वभाविक हो, त्यसमा पुरुषका आफ्नै पीडा र बाध्यता पनि हुन्छन्, तर उसले सुन नै दिन नसके पनि प्रेम कसरी अभिव्यक्त गर्छ, त्यो कुरालाई गीतमार्फत् सन्देश दिएका छैँ ।’
गीत सुनेपछि पूजा मेहताले पनि यस्ता गीत पछिल्लो समय दुर्लभ बन्दै गएको बताइन् । ‘साँच्चै भन्ने हो भने याे गीत सुन्दा म नोस्टाल्जिक भएँ, हाम्रो गाउँघरको कथालाई यति मिठो गरेर प्रस्तुत गरिएको छ कि म शब्दमा अभिव्यक्त गर्न सक्दैनँ’, मेडिकल व्यवसायी समेत रहेकी उनले भनिन्, ‘हाम्रो यथार्थतासँग जोडिएका यस्ता गीत नै हो धेरै आयु हुने, नत्र यहाँ बजार तताउने छाडा गीतको कमी छैन ।’
Advertisement
डा. बेनुजा भण्डारी समेत गीत सुनेर नतमस्तक छिन् । गीतका शब्द र सन्देशले गाउँकै जीवनशैलीमा पुर्याएको उनी बताउँछिन् । भन्छिन्, ‘सायद मैले धेरै समयपछि यस्तो अर्गानिक गीत सुनेको हुँ, शब्द र स्वर मात्रै होइन, भिडियोको डिरेक्सन र कोरियोग्राफी पनि प्रफेक्ट छ, यत्ति आग्रह गर्छु कि यस्ता गीतलाई प्रचार गरौँ, संरक्षण गरौँ ।’






















प्रतिक्रिया